
अशोज १, झापा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफूलाई जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको अफर आएको दावी गर्नु भएको छ ।
विहीवार काठमाडौंबाट गृहजिल्ला झापा फर्किए लगत्तै विर्तामोडमा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त दावी गर्नु भएको हो ।
प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न प्रस्ताव गर्नु भएको उहाँको दावी छ ।
प्रधानमन्त्री अफर आउँदा किन नमानेको भन्ने विषयमा उहाँले मन्तब्यको क्रममा प्रष्टिकरण दिनु भएको थियो । पश्चिमा विदेशीहरुको डिजाइनमा प्रधानमन्त्री बन्ने भएकाले आफूले अस्वीकार गरेको उहाँको जिकीर छ ।
भदौ २३ गते काठमाडौं लगायत देशका प्रमुख सहरमा जेनजी आन्दोलन सुरु भएपछि हालसम्ममा ७४ जनाको मृत्यु भइसकेको छ ।
जेनजी आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु भएको थियो । जेनजीको सहमति अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलभन्दा प्रधान सेनापति अशोकराज सिग्देलले बढी अग्रसरता देखाउनु भएको थियो ।
सोही क्रममा जेनजीको एउटा टोली लिएर महाअभियानका संयोजक प्रसाई प्रधान सेनापति सिग्देलसँग वार्ता गर्न जंगी अड्डा पुग्नु भएको खुलासा भएको थियो ।
वार्ताको क्रममा प्रधान सेनापति सिग्देलले प्रसाईलाई जेनजी आन्दोलनको स्टेकहोल्डर भनेर सम्मान दिएको उसबेलै मिडियामा सार्वजनिक भएको थियो ।
जेनजी आन्दोलनपछि प्रसाई विहीवार तामझामका साथ गृहजिल्ला आउनु भएको हो । चन्द्रगढी विमानस्थलमा उहाँलाई बाजागाजा र फूलमालासहित समर्थकहरुले स्वागत गरेका थिए ।
दुई वटा सेता कारको स्कर्टिङमा उहाँ चन्द्रगढीबाट गरामनी हुँदै विर्तामोड आउनु भएको थियो । मोटरसाइकल र कारको ताँतीले उहाँलाई बीएन्डसी हस्पिटल पुर्याएको थियो । त्यहाँ उहाँले दुर्गा माताको प्रतीमामा ध्वजा पताका चढाउनु भएको थियो ।
बीएन्डसी नजिकै सिटी मार्केट परिसरमा महाअभियानले उहाँको सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै उहाँले पूर्वप्रधानमन्त्री केपी ओली कटु आलोचना गर्दै ओलीलाई दुला पसेको मुसोको संज्ञा दिनु भएको थियो ।
आफूलाई पाँच महिना अघि ओली नेतृत्वको सरकारले हतकडी लगाएर काठमाडौं लगेर थुनामा राखेको स्मरण गर्दै उहाँले अहिले परिस्थिति उल्टिएको दावी गर्नुभयो । आफूलाई झापालीले स्वागत सम्मान गरेको र २० लाख रुपैयाँ मुनिको ऋण मिनाहा गर्ने प्रतिवद्धताबाट पछि नहटेको उहाँको भनाई थियो पोस्ट।समाचार : लोकतन्त्र पोस्ट



